
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राखे ।
उनले सुरुमा घिसिङले जिम्मेवारी सम्हाल्दा माफियाको चङ्गुलमा फस्नुहुन्छ कि भन्ने डर लागेपनि पछि धेरै नाफा हुने संस्थानको रुपमा प्राधिकरणको विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताए ।
‘हामीले पहिलो कार्यकालका रुपमा आज उहाँको बिदाइ गर्दैछौ । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्’, उनले भने ।
बिदाइ मन्तब्य राख्दै उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभैई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताए ।
प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेपनि सरकारले निर्णय लिइसकेको छैन ।
यस्तो देखियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
कास्की – राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६३ प्रतिशत निर्माण कार्य सकिएको छ ।
अहिलेसम्म विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मर, ह्याङ्गर, लाइटिङका काम सकिएको हो । गाडी गुड्ने रोड, एक्सेस रोड र टर्मिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ ।
कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ ।
अहिले दुई सय ३० चिनियाँ र एक सय २० जना नेपाली कामदारले दैनिक काम गरिरहेका छन् । विमानस्थलको काम तोकिएको समयभन्दा अगाडि नै सक्ने योजना भए पनि कोरोना महामारीका कारण असर परेको प्रमुख मुनाकर्मीको भनाइ छ ।
केही समय अगाडिसम्म सामान आउनै समस्या रहेको थियो । तर पछिल्लो समय सामान आइरहेको उहाँले बताउनुभयो । कोरोना महामारीको कारण चिनियाँ कामदार नेपाल आउन समस्या भएको उहाँको भनाइ छ । ‘अन्तर्राष्ट्रिय उडान मात्र खुलेर भएन, उताको भिसाको पक्रिया पनि मिलाउनुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘यसको लागि पनि हामीले प्रक्रिया अगाडि बढाएका छौँ ।’
चिनियाँ कामदार समयमै आउन पाउने हो भने तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख मुनाकर्मीको भनाइ छ । ‘कामदार आउन ढिलाइ भयो भने केही पछाडि धकेलिन्छ, ढिलो नहोस् भनेर हामीले अहिले देखि नै प्रक्रिया अगाडि बढाएका छौँ’, उहाँले भन्नुभयो ।
चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर यो विमानस्थल बनाउन सुरु गरिएको हो । विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० वा त्यो सरहका जहाज आउजाउ गर्न सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा बनिरहेको विमानस्थलको सन् २०२१ भित्र निर्माण सकेर उडान सुरु गर्ने लक्ष्य लिइएको छ ।
विमान अवतरणमा समस्या देखिने भएपछि विमानस्थलको दक्षिण–पूर्वी भागमा रहेको रिठ्ठेपानी डाँडा पनि कटानको काम चलिरहेको अवस्थामा वर्षाले गर्दा त्यो काम रोकिएको मुनाकर्मीको भनाइ छ । त्यो डाँडामा सरकारी वनको रुखमा टाँचा लगाउने काम भइरहेकोले केही समयपछि त्यो काम पनि अगाडि बढ्ने मुनाकर्मीले जानकारी दिनुभयो
साभार उज्यालो अन्लाईन