एमालेको मात्रै सरकार बन्न सक्ने सङ्केत देखाउनु नै नेपाल सरकार भारतको सामु झुक्नु हो

सरकार 

प्रकाशित मिति : २०७४ माघ १९ शुक्रबार
काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराज दुईदिने नेपाल भ्रमणका लागि बिहिबार भारतीय वायुसेनाको विमानबाट नेपाल झरिन् । अपरान्ह ४ बजे काठमाडौं अवतरण गरेकी स्वराजले औपचारिक रुपमा दुई पक्षसँग मात्रै भेटघाट गरिन् । एउटा एमालेको प्रतिनिधि मण्डल र अर्को मधेशी दलहरुको प्रतिनिधि मण्डलसँग । 
स्वराजले नेपालमा गर्ने भेटघाटलाई दुईकित्तामा विभाजन गरेर भेटघाट सुरु गरे । उनले अबको ५ वर्षसम्म सहयात्रा गरेर जानुपर्ने दलहरुसँगको भेटलाई प्राथमिकतामा राखेकी छिन् भने बाँकी दलहरुलाई कम प्राथमिकतामा राखेको देखिएको छ । 
स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्दैछिन् । 
स्वराजको बिहिबारको भेटघाट गरेका पार्टीहरुबीच गठबन्धन हुँदा आगामी ५ वर्षको लागि सहजै सरकार गठन र सञ्चालन गर्न सकिने अवस्था रहेको छ । स्वराजले गठबन्धनलाई महत्व दिएकी थिईन् भने उनले राजपाका नेताहरुसँग भेटघाट गर्नुपूर्व माओवादीका नेताहरुसँग भेटघाट गर्नु पर्ने थियो । 
तर, स्वराजको यो भेटघाटले भारत बाम एकताको लागि भन्दा पनि नेकपा एमाले र मधेशी दलबीचको सहकार्यमा सरकार गठनको पक्षमा भारत रहेको आशंका समेत गर्न थालिएको छ । 
स्वराजको यो आकस्मिक भ्रमणले एउटा कित्ता के स्पष्ट गरिसकेको छ भने भारत अहिले पटकपटक धोका दिने प्रचण्डलाई बदला लिने तयारीमा भारत रहेको छ । 
राजनीतिलाई भित्रैदेखि बुझेका राजनीतिका चतुर खेलाडी प्रचण्डले स्वराजको भ्रमण अघि नै अहिलेको अवस्थाको बारेमा बुझिसकेका थिए होलान् । तर, उनको यो भ्रमणको पहिलो कार्यतालिकासँगै यो कुरा सतहमा आएको छ कि प्रचण्ड वास्तवमै समस्यामा छन् । 
प्रचण्डले बिहीबार मात्रै काभ्रे पुगेर वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाएका थिए । काभ्रेपलाञ्चोकमा प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौँ । 
उनले ईंकित गरेको प्रतिक्रियाबादी को हो भन्ने कुरा त उनले नै विस्तारै पर्दा खोल्दै जालान् । तर, यत्तिकुराचाहि पुष्टि भईसकेको छ कि साँच्चिकै अहिले बाम गठबन्धन धरापमा परिसकेको छ । 
प्रचण्डले पछिल्ला ५ वर्षको समयमा भारतलाई दिएको धोकाको भारत एकाएक हिसाव किताव गर्न चाहन्छ । प्रचण्डले संविधान निर्माणको समयदेखि सुशील कोइराला नेतृत्वको सरकारलाई असहयोग गर्नेहुँदै चीनसँको ओभिओआरमा गरेको हस्ताक्षरसम्मको घटनले भारत प्रचण्डसँग यस अघि नै रिसाएको हो । यस्तो अवस्थामा मधेशी दलहरुसँगको गठबन्धनमा सरकार बनाएर प्रचण्डलाई भारतले पाखा लगाउने रणनीति देखिएको छ । 
मधेशीदलहरुसँग मिलाएर सरकार बनाउँदा भारतलाई हुने फाईदाहरु 
पहिलो फाईदा एकातिर काँग्रेस र माओवादीलाई प्रतिपक्षमा राखिसकेपछि र गठबन्धन तुहाईसकेपछि ओली भारतप्रति यति आश्रित हुन्छन् कि भारतको चित्त मात्रै दुखाउन खोजेभने मधेशी दलहरुको प्रयोगगरी दुईवर्षमा नै ओलीको सरकार ढाल्न सक्छ भारतले । त्यसैले यसरी माओवादीलाई सत्ता बाहिर राखेर काम गर्दा ओलीले खुल्ला हृदयले चीनसँग सहकार्यको हात फैलाउन पाउने छैनन् । 
दोस्रो फाईदा गठबन्धन तुहाईसकेपछि भारतले प्रचण्डलाई सबक सिकाउने राम्रै वातावरण बन्न सक्छ । यस अघि किस्ताबन्दीमा प्रचण्डले भारतलाई दिएको धोकाको हिसाव किताव भारतले ओली मार्फत् नै गराउने छ । 
यसरी बाम गठबन्धन फुटाएर सरकार बनाउन सकेको खण्डमा एकातिर एमालेभित्रै असन्तुष्टिको चाङ देखिन्छ भने अर्को तिर बलियो प्रतिपक्षी र कमजोर सत्तापक्ष हुँदा विकासको काम एकातिर गर्न नसकिने र अर्को तिर चीनसँगको सम्बन्धलाई पनि थप अघि बढाउन नसक्ने अवस्था सरकारसँग रहन्छ । यस्तो अवस्थामा भारत आफ्ना स्वार्थहरु पूरा गर्न पनि सफल हुनसक्छ । 
नेपालमा जे गरेपनि आफूले भने अनुसारको संविधान संशोधन नहुने भएपछि भारत संविधान संशोधनलाई भन्दा सरकारलाई नै आफ्नो वशमा पार्ने दाउमा लागेको देखिन्छ । भारतले यो सबै स्वार्थ पूरा गर्नको लागि माओवादी रहित ओली नेतृत्वको सरकार गठन गर्न लागेको देखिन्छ ।
काँग्रेस र माओवादी प्रतिपक्षमा बसे बन्छ सरकार ?
प्रत्यक्षतर्फ प्रतिनिधिसभाको कुल १ सय ६५ सिटमा वाम गठबन्धनले ११८ सिट ल्याएको छ । जसमा वाम गठबन्धनभित्र एमाले एक्लैले ८०, माओवादी केन्द्रले ३६, राष्ट्रिय जनमोर्चाले १ र राप्रपा १ ले एक सिट ल्याएको छ । वाम गठबन्धनकै सहयोगमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङदेनले जितेका हुन् । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरम नेपालले १० सिट जितेका छन् ।
समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएपनि सिट संख्या यकीन भईसकेको छैन । यद्यपि समानुपातिकमा एमालेको कम्तिमा ४० सिट आउने देखिएको छ । यस्तो अवस्थामा एमाले एक्लैको कूल १ सय २० सिट हुन्छ । सरकार गठनको लागि आवश्यक पर्ने बाँकी १८ सिटमा राजपाको प्रत्यक्ष तर्फको ११ सिट र समानुपातिक तर्फको सम्भावित ७ सिट गर्दा सहजै बहुमत ओलीको पक्षमा पुग्ने आकलन भारतको छ । 
यस्तो अवस्थामा संघीय समाजवादी फोरमलाई पनि भारतले मिलाउन सक्यो भने ओली झनै ओलीको पक्षमा नै धेरै सांसद् हुने देखिएको छ । यस बाहेक राष्ट्रिय जनमोर्चा, एमालेकै सहयोगमा जितेका राजेन्द्र लिंदेन जस्ता सांसद्हरुलाई पनि मिलाएर ओलीको सरकार बन्न सक्छ । 
यस्तो अवस्थामा ओली बलियो प्रतिपक्ष सहित सरकारमा जानेछन भने संसद्को दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने छ । यस्तो भारतीय डिजाईनलाई ओलीले कत्तिको स्वीकार्छन् त्यो भने हेर्न बाँकी नै छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.