भद्रपुर, (झापा) : झापा जिल्लामा निर्वाचन व्यवस्थापन तयारी अन्तिम चरण पुगेको छ। यही मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै जिल्लाको निर्वाचन व्यवस्थापन तयारी अन्तिम चरण पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार मतदानमा खटिने कर्मचारीलाई नियुक्तसंगै मतपत्र, मतपेटिका र मातदानमा चाहिने आवश्यक ६८ प्रकारको सामग्री बुझाउने कार्य सुरु भइसकेको जनाएको छ। जिल्लामा रहेको २८३ मतदान स्थलमा ६९२ मतदान केन्द्रमध्ये आइतबार ३१२ वटा मतदान केन्द्रमा खटिने कर्मचारीले मतपत्र र मतदान सामग्री बुझेर लगिसकेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए। झापा क्षेत्र नम्बर ४ र ५ का सम्पूर्ण मतदान केन्द्र र क्षेत्र नम्बर १ अन्तरगतको मेची नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा पर्ने केन्द्रमा निर्वाचन सामग्री पठाइसकेको उनले बताए। निर्वाचन सामग्रीलाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पठाउन निर्वाचन कार्यालयले ढुवानीका लागि ट्रक र बसको व्यवस्थापन गरेको छ। झापा क्षेत्र नम्बर १, २ र ३ मा पर्ने ३८० मतदान केन्द्रमा सोमबार मतपत्र र मतदान सामग्री पठाइनेछ। एउटा निर्वाचन स्थलमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुई जना सहयोगी कर्मचारी गरी आठ जनासहितको कर्मचारीको टोली खटाइएको छ। झापामा ५ हजार ५ सय ३६ जना जना कर्मचारी र २ हजार ६४ स्वयम सेवक गरी ७ हजार ६ सय कर्मचारी खटाइने छ। निर्वाचन केन्द्रमा खटाइएको कर्मचारीहरु सोमबारसम्म सबै केन्द्रमा पुगेर आफ्नो जिम्मेवारी सम्हालि सक्ने कार्यालयले जनाएको छ। ५ निर्वाचन क्षेत्र बनाएसँगै निर्वाचन क्षेत्रको भौगोलिक वनावट पनि वृहत बनेको छ। झापाबाट प्रतिनिधिसभा पाँच र प्रदेशसभा १० जना निर्वाचित हुनेछ। १५ पदका लागि १४१ जना उम्मेदवार बनेका छन्। झापामा ५ लाख ८५ हजार १६६ मतदाता रहेको छ। मतदानको सुरक्षा अवस्था यस्तो छ जिल्ला प्रहरी कार्यालय झापाले मतदानका दिन परिचालन गरिने सुरक्षा व्यवस्थाका लागि रणनीति बनाइसकेको छ। झापामा २८३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोले झापा प्रहरीले तीन चरणमा विभाजन गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार झापामा ४९ वटा अतिसंवेदनशील, १०५ वटा संवेदनशिल र १२९ वटा सामान्य गरी मतदान स्थलको विभाजन गरिसकेका छौं। झापा क्षेत्र नम्बर ५ मा सबै भन्दा बढी १४ वटा अतिसंवेदनशील मतदान स्थल रहेको छ भने, झापा क्षेत्र नम्बर ३ मा ११ वटा र बाँकी १, २ र ४ वटा क्षेत्रमा ८/८ वटा अतिसंवेदनशिल मतदानस्थल रहेको नायव प्रहरी उपरीक्षक बस्नेतले बताए। भारतसँगको खुल्ला सीमावर्ती क्षेत्रसंग जोडिएको मतदान स्थल रहेकोले सुरक्षाको दृष्टिकोणले सोही अनुसारमा विभाजन गरिएको उनले बताए। केन्द्रीय सुरक्षा परिचालन निति अनुसार झापामा २ हजार प्रहरी र २७५५ म्यादी प्रहरी गरी ४७५५ प्रहरी खटाइनेछ। अतिसंवेदनशील स्थलमा चार प्रहरी र १० म्यादी प्रहरी, संवेदनशीलमा तीन प्रहरी र सात म्यादी प्रहरी, सामान्यमा तीन प्रहरी र पाँच म्यादी प्रहरी खटाइनेछ। साथै प्रत्येक क्षेत्रमा सात वटा मोवाइल प्रहरी गस्ती पनि परिचालन गरिनेछ, भने सशस्त्र प्रहरी र नेपाली सेना पनि खटाइने छ। क्षेत्रगत मतगणना स्थल कहाँ पर्छ? झापाको सदरमुकाम भद्रपुरमा मुख्यसहित पाँच वटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ। जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ। झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको हो। आयोगले तोकिएको बमोजिम झापा क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौका इजलास अधिकृत शिवप्रसाद पराजुलीलाई झापा क्षेत्र नम्बर १, सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मालाई झापा क्षेत्र २, सर्वोच्चका इजलास अधिकृत प्रेम खड्कालाई झापा क्षेत्र नम्बर ४ र इजलास अधिकृत शकुन्तला कार्कीलाई झापा क्षेत्र नम्बर ५ मा खटाएका छन्। सोही क्षेत्रबाट मतदान र मतगणनाका लागि कर्मचारी खटाउनुका साथै मतगणना पनि त्यही हुने निर्वाचन कार्यालयले जनाएको छ।
Read more at: http://thahakhabar.com/news/27556
चुनाव नजिकिँदै गर्दा झापा मा खटिए कर्मचारी यस्तो छ स्थलगत रिपोर्ट
About Me
Powered by Blogger.
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्