छुट्टाछुट्टै स्थान बाट ९२५ जना पक्राउ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिथोल्न खोजेको आरोपमा प्रहरीले  देशका विभिन्न स्थानबाट मंगलबार अपराहृनसम्ममा ९५२ जनालाई पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६०८ जना छन् । उनीहरूले विप्लवको पार्टीका कार्यकर्ता रहेको र निर्वाचन बिथोल्न हिँडेको स्वीकार गरेको  प्रहरीको भनाइ छ । अन्य समूहका ३४४ जना छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ३० जना महिला छन्, जसमा २८ जना विप्लव समूहका कार्यकर्ता छन् । अन्य दुईजनाको राजनीतिक संलग्नता खुलिसकेको छैन ।
पहिलो चरणको निर्वाचनमा १५६ जना पक्राउ परेका थिए ।
प्रहरीले विभिन्न ५२ स्थानबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ, सकेट बम र हतियार बरामद गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज न्यौपानेले बताए । उनीहरूले ११ वटा सवारी साधनमा आगो लगाएको पनि उनले बताए । न्यौपानेले भने, ‘जनतालाई तर्साउन घरायसी बम र विस्फोटक पदार्थ बनाएर विस्फोट गराउने गतिविधि भइरहेको छ । प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्ने प्रयास गरेको छ ।’
प्रहरीले कतिपयलाई प्रमाणका आधारमा समातेको छ भने कतिपयलाई शंकाका आधारमा । शंकाको आधारमा समातिएकामाथि छानबिन भइरहेको जनाइएको छ ।
विभिन्न ५२ स्थानबाट २२ सय क्याप बम र सकेट बम, ५५५ जिलेटिन, २१ किलो बारुद, ६ सय वटा रेडबुल बम, २२५ वटा ग्रिनेट, साना–ठूला ६० वटा हतियार र ३५५ वटा गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मतदान हुने क्षेत्रमा सादा पोसाकमा पनि सुरक्षाकर्मी खटाएको जनाइएको छ । कुल प्रहरी जनशक्तिको ९० प्रतिशत निर्वाचन सुरक्षामा परिचालन भएको जनाइएको छ ।
प्रहरीका अनुसार बितेको एक महिनामा निर्वाचन प्रचारमा हिँडेका एक दर्जनभन्दा बढी उम्मेदवारमाथि आक्रमण भएको छ । दोस्रो चरणमा कांग्रेस उम्मेदवार उदयपुरका नारायणबहादुर कार्की र काठमाडौंका गगनकुमार थापा घाइते भए । अन्यमाथि आक्रमण भए पनि उनीहरू सुरक्षित रहे । दाङमा बम विस्फोटमा परी एकजना म्यादी प्रहरीको मृत्यु भयो भने आठजना घाइते भए ।
निर्वाचन बिथोल्न खोज्ने समूहले हालसम्म देशका ५० भन्दा बढी स्थानमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ । तीसभन्दा बढी स्थानमा शंकापस्द बस्तु तथा बमलाई निष्क्रिय पारिएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.